विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिकामा सरूवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध बनाएर जनताको मनमा सधैं रहने गरी छाप छोडेर जाने प्रतिबद्धता जनाउनु भएको छ ।
महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने उहाँको दाबी छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत बीचको खिचातानीले यसअघि विराटनगरको विकास पछि परिरहेको बेला अधिकारीको यो अभिव्यक्तिले नगरको विकासले फड्को मार्ने आशा गरिएको छ । महानगरमा आज पत्रकारहरूसँग भेटघाट गर्दै उहाँले जनताको अड्डा भएकोले आफूले जनप्रतिनिधिसँग समन्वय गरेर मात्र काम गर्ने बताउनुभयो । आफू विराटनगर—४ कै स्थायीबासी भएकोले समृद्ध विराटनगर बनाउने आफ्नो योजना रहेको बताउनुभयो । कार्यालयमा देखिएको बेथिती सुधार गर्दै लाने र पहिलो चरणमा प्रशासनिक सुधार गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै वडा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउँदै लाने र जनताको घरदैलोमै सेवा दिने गरी स्तरोन्नती गर्ने स्पष्ट पार्नुभयो ।