Monday, November 25, 2024
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सिमित

साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामा सिमित

विराटनगर, ८ चैत्र । विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचांै साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

यसअघि चार पटक साफ च्याम्पियनसिप बनेको भारतले पुनः उपाधि चुम्न सफल भएको हो । आजको फाइनल खेलमा भारतले नेपाललाई १ का विरुद्ध ३ गोल गर्दै उपाधि जितेकोे हो । पहिलो हाफ सकिँदासम्म नेपाल र भारतको समान १–१ गोल रहेको थियो । तर दोस्रो हाफमा उक्त समान गोल धेरै समय टिक्न सकेन । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतकी जालिमा छिप्परको फ्रि किक गोलमा परिणत भएको थियो । दोस्रो हाफमा भारतकै ग्रेस डाङ्ग्रीले एक गोल गरेकी थिइन् भने अन्जु तामाङले अर्को गोल गर्न सफल हुँदा नेपाल र भारतको गोल अन्तर १ का विरुद्ध ३ गोल भएको थियो । नेपालको तर्फबाट भने खेलको ३३ औं मिनेटमा सावित्री भण्डारीले एक गोल गर्न सफल भइन् । आजको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो भने रंगशालामा भरिभराउ नेपाली समर्थक उपस्थित थिए । नेपाली टोलीका तर्फबाट खेलाडी सावित्री भण्डारीका केही उत्कृष्ट प्रहारहरु भारतीय गोलकिपरको सामू निष्क्रिय बनेको थियो । यो सँगै पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको उपाधि जित्ने नेपालको सपना यस पटक पनि अधुरै रहन पुग्यो । साफ च्याम्पियनसिपको पहिलो, दोस्रो, तेस्रो संस्करणको फाइनलमा पनि नेपाल भारतबाटै पराजित हुनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *