१३ माघ,विराटनगर । विराटनगरस्थित सिंघिया खोलामा एक बालिका शंकास्पद अवस्थामा मृत भेटिएकी छन् । विराटनगर–८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दास घर नजिकै भएर बग्ने सिंघिया खोलामा शंस्कास्पद अवस्थामा मृत भेटिएकी हुन् । गुडिया नामले बोलाइने रुपमतिको शव नग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका छन् । घरभन्दा ५ सय मिटर दक्षिण पूर्व सिंघीया खोलाको मुलधारमा मृतकको शव भेटिएको स्थानीयले जानकारी दिएका छन् । शनिवार साँझ घर छेउबाटै हराएकी गुडियालाई खोज्ने क्रममा आज दिउँसो मृतककी हजुरआमा सीता दासले खोलामा बालिकको शव फेला पारेकी थिइन । दासले हराएकी नातिनि खोज्दै जाँदा सिंघिया खोलामा माछा मारिरहेको माझीले एकजनाको शव देखेको बताएपछि नजिकै गएर हेर्दा आफ्नै नातिनिलाई मृत भेटेको बताउनुभयो । दासले शव पानीमा उंधो परेको र नांगो अवस्थामा भेटिएकाले शुरुमा चिन्नै समस्या भएको बताउनुभयो । मृतककी आमा मन्नी देवीले शनिवार सांझ ८ बजेपछि छोरीलाई २० रुपैयाँ दिएर नजिकैको पसलमा भुजा किन्न पठाएको तर भुजा नपाएपछि छोरी फर्किएर घर आएको जानकारी दिनुभयो । त्यसपछि भने छोरीले छिमेकको घरमा टिभी हेर्न जान्छु भनेर निस्किएको र त्यपछि बेपत्ता भएको बताउनुभयो । मृतक बालिकाका पिता ठेला चलाएर परिवारको जीवनयापन गर्दै आएका छन् । दास परिवार खेला छेउकै ऐलानी जग्गामा झुपडी बनाएर बसोबास गर्दै आएको छ । सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले पोष्टमार्टमका लागि शवलाई अस्पताल पठाएको छ । मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले घटनाका विषयमा अनुसन्धान सुरु भइसकेको बताउनुभयो ।