काठमाडौं, २ माघ । ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न संघ, प्रदेश र स्थानीय सरकार’ प्रतिवद्ध रहेको सन्देश दिँदै २१ औं ‘भूकम्प सुरक्षा दिवस’ आज मनाइएको छ ।
विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस काठमाडौं लगायतका देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने गरिएको हो । यसै अवसर पारेर आजबिहान काठमाडौंको भूगोल पार्कस्थित ‘भूकम्प स्मारक’मा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले नेपालमा पटक–पटक भूकम्प गई ठूलो धनजनको क्षति भएकाले अव त्यस्ता धनजनको क्षति हुन नदिन सबै नागरिकलाई सचेत गराउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको स्मरण गराउनु भयो । उहाँले भूकम्पबाट हुने धनजनको क्षति हुन नदिन सरकारले कानुनी र प्राविधिक दुवै पक्षलाई सुधार गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । भूकम्प लगायतका प्राकृतिक विपत्तिबाट धनजनको क्षति हुन नदिन संघ, प्रदेश र स्थानीय सरकार प्रतिवद्ध रहेको गृहमन्त्री थापाको भनाई छ ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पबाट धनजनको क्षति नहुने गरी भवनहरुको निर्माण गर्न सन्देश दिने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाइएको स्पष्ट पार्नु भयो । कार्यक्रममा गृहमन्त्री थापाले ‘विपद् सम्पर्क पुस्तिका’ पनि विमोचन गर्नु भएको थियो । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए ।