१, माघ । हिन्दु नेपालीहरुले आज अत्यन्त श्रद्धापूर्वक मकरसंक्रान्ति पर्व मनाएका छन् । आरोग्य र मोक्षप्राप्तिको कामनासहित मनाइने यो पर्वमा पवित्र जलाशयमा स्नान गरी घिउ चाकु र तिलको लड्डु खाने प्रचलन छ ।
धार्मिक र अध्यात्मिक दृष्टिकोणले मकरसंक्रान्ति हिन्दूहरुको महत्व पूर्ण चाड हो । भगिरथले माघेसंक्रान्तिकै दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए भन्ने मान्यता रहिआएको छ । माघेसंक्रान्तिको दिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । मकरसंक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरूल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काईलगायतका नदी र घाटमा स्नान, दान र श्राद्ध गर्नेको अत्यधिक भीड लाग्छ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघेसंक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकरसंक्रान्ति पनि भनिन्छ ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको माघेसंक्रान्तिमा मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ्र । यस दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने उल्लेख छ । यसैगरी मकरसंक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ ।