काठमाडौं, २५ पुष । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गर्नु भएको हो । आज काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी अभियान संचालनका लागि आवश्यक योजना र कार्यक्रम तय गर्न पनि सहकारी संस्थाहरुलाई आह्वान गर्नुभयो । मन्त्री अर्यालले सहकारी क्षेत्र मुलुकको समृद्धि र गरिवी निवारणको आधारको रुपमा रहेको उल्लेख गर्दै त्यसका लागि सरकारले आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले समृद्धिको सपना बोकेर हिँडेको सहकारी क्षेत्रलाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने कुरामा सरकार ढुक्क रहेको पनि बताउनु भयो । नेपालमा करिब ३४ हजार ५ सय सहकारी संस्थाहरु रहेका छन ।