विराटनगर, २४ पुष । विराटनगर महानगरपालिका वडा नं. ११, पाञ्चालीस्थित आँप बगैंचामा शंकास्पद अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको शव विराटनगर बखरीका हरीलाल रामको भएको मृतकका आफन्तलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी निर्माण मजदुर भएको बुझिएको छ । मृतक रामको शवको पिठ्युमा रगत बगेको देखिएको छ । घटनाको प्रकृति हेर्दा हरिलालको हत्या गरेर झुण्डाइएको हुनसक्ने मृतकका आफ्न्त हाहीदेवी रामले बताउनुभयो । हरिलाले बखरी प्रहरीचौकी पछाडि पट्टी आफ्नो ६ धुर जग्गामा पक्की घर निर्माण गर्दै आएको र निर्माणस्थलमा राखिएको सामान चोर्न आउने व्यक्तिहरुले हत्या गरेको हुनसक्ने आफन्तले आशंका गरेका छन् । केहिदिनयता नकाव लगाएका युवाहरु राति घर निर्माणस्थलमा आउने र धम्क्याउने गरेको आफन्त हाहीदेविको भनाइ छ । धम्कीको विषयमा मृतकले यसअघि बखरी प्रहरीलाई खबर गरिसकेको हाहीदेवीले बताउनुभयो ।
आँपको होचो रुखमा झुण्डिएको अवस्थामा फेलापरेको शव हात र खुट्टा रुखमा अडेस लागेको अवस्थामा भेटिएको छ । प्रहरीले शवको मुचुल्कागरि पोष्टमार्टमकालागि कोशी अञ्चल अस्पताल पठाएको छ ।