Saturday, November 23, 2024
Home > खेलकुद समाचार > इनरुवामा उपत्यकाबाहिरको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हुँदै

इनरुवामा उपत्यकाबाहिरको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हुँदै

इनरुवा, १९ पुष । इनरुवा नगरपालिका पछिल्लो समय खेलकुदको हव बन्दै गएको छ । विषेशगरी क्रिकेटका राष्ट्रियस्तरदेखि क्षेत्रीय र स्थानीय तहका खेलहरु भैरहेका छन् । केही महिनाअघि पहिलोपटक रात्रीकालिन टि २० क्रिकेट सफलतापूर्वक आयोजना गरेको नगरपालिका यतिबेला अर्को ठूलो प्रतियोगिता गर्न लागिपरेको छ । उपत्यकाबाहिर सबैभन्दा ठूलो एक दिवशीय क्रिकेट प्रतियोगिताको तयारीसँगै चर्चासमेत चुलिएको छ ।

इनरुवा खेल मैदानमा पुस २१ गतेबाट मनमोहन स्मृति कप एक दिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता संचालन हुँदैछ । प्रतियोगिताको तयारी लगभग पूरा भएको छ । इनरुवा नगरपालिकाको कार्यालय आफैं खेल संचालनको तयारीमा जुटेको छ । शान्तिदीप नेपाल र इनरुवा नगरपालिकाले आयोजना गर्न लागेको प्रतियोगिता मोफसलकै ठूलो र पहिलोपटक हो । प्रतियोगिता माघ ७ गतेसम्म चल्नेछ । खेल मैदानमा आवश्यक पूर्वाधार निर्माणको काम तिव्र पारिएको छ । खेलका लागि पिच निर्माणको कार्य सकिएको छ । योसँगै घेराबेराका साथै मैदान मर्मत तथा लेवलिङको कामसमेत लगभग सकिएको छ । प्रतियोगितालाई लक्षित गरी राजमार्गसहित नगरभित्र र बाहिर प्रचारात्मक तुल, ब्यानर टाँगिनुकासाथै प्रवेश द्वारहरु निर्माण गरिएका छन् । आयोजक टिम घोषणाका लागि इनरुवामा खेलाडी छनौटको काम भैरहेको छ । प्रतियोगिता नगरको पहिचानका लागि महत्वपूर्ण सावित हुने भएकाले समेत राष्ट्रिय क्रिकेट प्रतियोगितालाई भब्य बनाउन आयोजक लागि परेको छ ।

राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा सातवटै प्रदेशसहित आयोजक इनरुवाका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी तीनवटै विभागीय टिम र एक भारतीय क्रिकेट क्लब मैदान उत्रिदै छन् । प्रतियोगिता संचालनको विषयलाई लिएर हौसिएका इनरुवा नगरपालिकाका मेयर राजन मेहता प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गरिछाड्ने बताउनु हुन्छ । नगरको चिनारी मात्र नभएर नगरलाई खेलकुद हब बनाउने नगरपालिकाको अभियानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता फलदायी मेहताको भनाइ छ ।

प्रतियोगिताको बिजेताले ४ लाख १ हजारसहित शिल्ड र उपबिजेताले २ लाख १ हजार र सेमिफाइनल पुग्ने दुई टिमले प्रमाणपत्रसहित नगद २५ हजारका दरले रकम प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट बलरले २१ हजार १ सय, उत्कृष्ट ब्याट्सम्यानले २० हजार १ सय, अनुशासित टिमले १५ हजार र उदयमान खेलाडीले ट्रफीसहित नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *