शहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई खेलअघि नै उपाधि जितिसकेको मनाङमस्र्याङ्दी क्लबले आफ्नो १२ औं खेलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको मैदानमा दिउँसो दुई बजेर ३० मिनेटमा प्रतिस्पर्धा हुने खेलमा मनाङ स्पष्ट जित हात पार्दै आफ्नो अपराजित यात्रालाई कायमै राख्ने लक्ष्यमा छ । मनाङले ११औं खेलसम्म आइपुग्दा हार ब्यहोरेको छैन । लिगको शीर्ष स्थानमा रहंदै उपाधि जितिसकेको मनाङको ११ खेलबाट ३३ अंक बनाएको छ । त्यस्तै, लिगको सातौ स्थानमा रहेको हिमालयन शेर्पाको भने ११ खेलबाट १७ अंक छ । शेर्पा मनाङलाई रोक्ने रणनीतिमा छ । त्यस्तै, आजै संकटा क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुदैछ । आजको खेलले उपविजेता हुनेको सम्भावना पनि प्रबल बनाउने छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा थ्रीस्टार क्लबलाई पराजित गरेमा संकटा उपविजेता बन्नेछ । तर संकटा थ्रीस्टारसँग पराजित या बराबरीमा रोकिएमा पनि उपविजेताको टुंगो भने लिगको अन्तिम चरणको खेलबाट हुनेछ । लिगको दोस्रो स्थानमा रहेको संकटाको ११ खेलबाट २५ अंक छ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको ११ खेलबाट २३ अंक छ ।