Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया सुरु

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई प्रक्रिया सुरु

संसदीय समितिले विभिन्न देशका लागि प्रस्तावित पाँचजना राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदुत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो । मन्त्री परिषदको गत पुस ६ गते बसेको बैठकले अधिकारी, भण्डारी, ढुंगाना, ढकाल र भट्टराईलाई विभिन्न देशको राजदुतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो । सरकारले राजदूतका लागि नियुक्ती गर्न सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गर्ने निर्णय गरिएको समितिका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । समितिले संसदीय सुनुवाई प्रक्रियाका लागि उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ । बिहिबारबाट लागू हुने गरी संसदीय विधि र प्रक्रियाअनुसार १० दिनसम्म प्रस्तावित राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय पनि गरिएको पनि समितिले जनाएको छ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ । सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *