जिल्ला प्रहरी कार्यालय धनुषाले चोरीमा संग्लन तीन जनालाई पक्राउ गरेको छ । नगर क्षेत्रमा केही समययता चोरीका घटना वृद्धि भएपछि प्रहरीले सक्रियता बढाएको थियो । विभिन्न स्थानमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिय अभिमनुकुमार साह, महोत्तरी औरही नगरपालिका वडा नम्बर ३ बस्ने सोनामाईका १८ वर्षिय रमेशकुमार यादव र धनुषा औहरी गाउँपालिका १ बस्ने २१ वर्षिय मोहम्द ईलियाकत राइनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट सामसुङ ५५ इन्चको एलईडी १ थान, ल्यापकटप १ थान, मोबाइल ६ थान, खुकुरी १ थान, सुनजस्तो देखिने दाना २ थान, सुन जस्तो देखिने मंगलसुत्र २ थान, सुनजस्तो देखिने टिकाको टुक्रा ७ थान, कानमा लगाउने सुन जस्तो देखिने झुम्का १ जोर बरामद भएको छ । त्यस्तै सुन जस्तो देखिने सिग्री १ थान, चाँदी जस्तो देखिने कचौरा १ थान, चाँदी जस्तो देखिने पाउजु ७ थान, मोती सेट भएको बाला १ थान, पाउनु १ जोर, ढोका र झयालमा लगाउने पर्दा १० थान, अक्सिजन ग्यास सिलिण्डर १ थान, ग्यास रेगुलेटर १ थानलगायतका सामग्री बरामद गरिएको धनुषा प्रहरीले जानकारी गराएको छ ।