काठमाडौं, १७ पुष । सांसदहरुले समसामयिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले निजी राष्ट्रिय शिक्षा आयोगले नीजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नजरअन्दाज गर्दै ७ बर्ष भित्र नीजी विद्यालयलाई सार्वजनिकरण गर्ने र सार्वजनिकट्रष्टमा लैजाने भन्ने ढंगले प्रतिवेदन तयार पारेको भन्दै गम्भीर आपत्ती जनाउनुभयो । शिक्षामा लगानी नपुगिरहेको अवस्थामा सरकारले नीजी क्षेत्रको लगानीलाई पनि निरुत्साहीत गर्ने गरी दीर्घकालिन योजना बनाईनु बिडम्बनापुर्ण भएको टिप्पणी गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रलाई संवेदनशील भएर अल्पकालिन र दीर्घकालिन योजना सहित अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । सांसद गजेन्द्र महतले मिडियाले योजनावद्ध ढंगले संसदको मर्यादामाथि प्रहार गर्ने काम गरेको आरोप लगाउनुभयो । मिडियाले सदनमा रोयो भनेर विगतमा ठुलो हल्ला चलाएको भन्दै उहाँले कर्मचारीको मिलेमतोमा मिडियाले सांसदहरुमाथि योजनावद्ध ढंगले प्रहार गर्ने गरेको दाबी गर्नुभयो ।