काठमाडौं, १२ पुष । सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।
तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो । साथै सरकारले थप ५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस पनि गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ ।