Friday, November 22, 2024
Home > मुख्य समाचार > उखुको उचित मूल्य नपाउँदा किसान मर्कामा

उखुको उचित मूल्य नपाउँदा किसान मर्कामा

११, पुष । एक नम्बर प्रदेशको एक मात्रै इस्टर्न सुगर मिलले सरकारले तोकेअनुसारको उखुको मूल्य दिन नसक्ने बताएको छ । प्रति क्वीन्टल पाँच सय ३० रुपैयाँ गत वर्ष नै सरकारले तोकेको मूल्य हो । गत वर्ष पनि सरकारले तोकेको भन्दा कम मूल्य पाएका झापा, मोरङ र सुनसरीका उखु किसानहरु मिलले यस पटक पनि उचित मूल्य दिन नसक्ने बताएपछि आक्रोशित भएका छन् ।

सरकारले उखुको समर्थन मूल्य प्रतिक्वीन्टल ५ सय ३० रुपैयाँ तोकेको छ । यो मूल्य सरकारले गत वर्ष नै तोकिदिएको हो । इस्टर्न सुगर मिलले गत वर्ष मिल घाटामा गएका कारण सञ्चालन नै गर्न नसक्ने भन्दै सरकारले तोकेको मूल्यभन्दा ३० रुपैयाँ कम ५ सय प्रतिक्वीन्टलमा किसानको उखु खरिद गरेको थियो । मोरङ, सुनसरी र झापाका २ हजार ४ सय कृषकले सुनसरीको बुर्ज गाउँपालिकास्थित ईष्टन सुगर मिललाई गत वर्ष उखु बिक्री गरे । तर, यस वर्ष गत वर्षको मूल्यमा पनि खरिद गर्न नसक्ने भन्दै सञ्चालकहरुले मिल बन्द गरेर बसेका छन् । सरकारले तोकेको मूल्यअनुसार किसानलाई मूल्य दिन नसक्ने मिलको भनाइ छ । सरकारले चिनी आयातमा रोक लगाएको भए पनि व्यापारीले गत वर्ष नै भारत र पाकिस्तानबाट चिनी आयात गरेर भण्डारण गरेका कारण आफूहरुको चिनी गोदाममा थन्किरहेको मिलको भनाइ छ ।

यो वर्ष किसानहरुले प्रति क्विन्टल ३ सय ८५ रुपैयाँमा उखु दिएमात्रै खरिद गर्ने मिल सञ्चालकको भनाइ छ । यता कृषकहरूले भने सरकारले तोकेको मूल्यअनुसार नै उखु खरिद गर्नुपर्ने बताउँछन् । गत वर्ष पनि आफूहरु मिल घाटामा गएको भन्दै सरकारले तोकेको भन्दा प्रतिक्विन्टल ३० रुपैयाँ छुट गरेको उनीहरुको भनाइ छ । मिलले भनेअनुसार आफूहरुले उखु बिक्री गर्दा लागत खर्चसमेत नउठ्ने किसानहरुको भनाइ छ । इष्टन सुगर मिलले शुक्रबार सुनसरी र मोरङका केही किसानलाई विराटनरमा छलफलका लागि बोलाएको थियो । किसानहरुले मूल्य नघटाए मिल सञ्चालन गर्न नसकिने भन्दै मिल सञ्चालकले किसानहरुलाई दबाब दिएको छ । एक नम्बर प्रदेशमा एक मात्रै चिनी मिल रहेकाले यहाँका किसानहरु मिलको मनोमानी मूल्यका कारण हरेक वर्ष मर्कामा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *