विराटनगर, ९ पुष । घुस लिने दिनेहरुका कट्टर शत्रुका रुपमा चिनिदै आएका श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलको अढाई महिनामै सरुवा भएको छ । २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका उपसचिव सञ्जेलको शीप बिकास कार्यालय इटहरी सुनसरीमा कामकाज गर्ने गरी आकस्मात सरुवा भएको हो ।
श्रम रोजगार तथा समाजिक सूरक्षा मन्त्रालयको प्रशासन शाखाले ६ पुस २०७५ मा व्यवसायिक तथा शीप बिकास तालिम प्रतिष्ठान ईटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरी सरुवा गरिएको पत्र पठाएको छ । श्रम कार्यालयमा हाजिर भएदेखी नै सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गराउन र श्रम ऐन २०७४ लाई पुर्ण रुपमा कार्यान्व्यन गराउन आफु सक्रियतापूर्वक लागिरहेको अवस्थामा आफुलाई नियम बिपरित अढाई महिनामै आकस्मात बदनियतपूर्वक सरुवा गरिएको अधिकृत सञ्जेलले आरोप लगाउनुभएको छ । निजामती कर्मचारी ऐन २०४९ र नियमावली २०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारण बिना दुई बर्ष नपुग्दै सरुवा गर्न पाइँदैन । तर आफुलाई श्रम अधिकार लागू हुन नदिने रोजगारदाता, टे«ड युनियन प्रतिनिधि र भ्रष्ट कर्मचारीहरु मिलेर नियमविपरीत सरुवा गरेको उहाँको दाबी छ । नियम बिपरित गरिएको सरुवा बदर गर्न आफु जुनसुकै हदसम्म पनि जाने उहाँको भनाइ छ । श्रम तथा रोजगार कार्यालयमार्फत अब चाँडै बैदेशिक रोजगारका लागि श्रम स्विकृति सेवा पनि सुरु हुने भएकोले घुस खाएर अकुत कमाउन चाहनेहरुले आफूलाई बाधक ठानेर सरुवा गरेकोले पुर्नबिचार गर्न उहाँले श्रममन्त्री गोकर्ण बिष्ट र प्रधानमन्त्री केपी ओलीलाई आग्रह पनि गर्नुभएको छ ।
श्रम कार्यालयमा आउनुभन्दा पहिले क्षेत्रीय निर्वाचन कार्यालय बिराटनगरमा निर्वाचन अधिकारीको रुपमा रहेर उहाँले तीनवटै तहको निर्वाचन मितव्ययी र विवादरहित ढंगले सफलतापूर्वक सम्पन्न गराउनुभएको थियो । त्यहाँ रहँदा सञ्जेलले गुणस्तरहिन भवन निर्माण गरेको एक करोडभन्दा बढी रुपैयाँ भुक्त्तानी दिन नमान्दा उहाँको काज सरुवा गरिएको थियो । तर पछि अदालतमा रिट हालेर उहाँ पुनः दरबन्दीमा फर्किनुभएको थियो । । सञ्जेलले तीन तहको निर्वाचनको समयमा जिल्ला भ्रमण गर्दा कुनै अतिरिक्त्त भत्ता लिनुभएको थिएन भने चालकसमेत प्रयोग नगरी गाडी आफैले चलाउनुभएको थियो । २०३८ सालमा दिपायल सिलगुडीस्थित अञ्चल अदालतमा सुब्बाबाट आफनो जागिरे जीवन सुरु गर्नुभएका उपसचिव सञ्जेलले सिरहा, धनकुटा, इलाम, तेह्रथुम, मोरङलगायत जिल्लास्थित शिक्षा, जनस्वास्थ्य, निर्वाचन कार्यालयदेखि मन्त्रालयमा बसेर पनि लामो समय सेवा गरिसक्नुभएका अनुभवी कर्मचारीका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँ जहाँ जानुहुन्छ त्यहाँ कर्मचारीहरुको ढिलासुस्ती र घुस्याहा प्रबृत्तिको खुलेर बिरोध गर्नुहुन्छ ।