विराटनगर, ९ पुष । क्यानडा पठाइदिने भन्दै प्रदेश नम्बर १ का ३० जना युवासँग झापाको गौरीगञ्ज वार्ड नम्बर ४ भवानीपुरका गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झा लगायतका ३ जना एजेन्टले डेढ करोड लिएर फरार भएका छन् । पीडित युवाले गौरीगञ्जमा रहेको गिरी र झाको सम्पतिबाट आफूहरुलाई उक्त रकम दिलाइदिन माग गरेका छन् ।
मोरङको सुनबर्सी नगरपालिकाका १४ जना र झापा, सुनसरीलगायतका जिल्लाबाट ३० जना युवालाई विदेश पठाइदिने भन्दै एजेन्टहरुले ठूलो रकम ठगी गरेपछि उनीहरुको विचल्ली भएको छ । यसरी ठगिनेहरुमा हंशराज राजवंशी, दयानन्द सहनी, कंशराज राजवंशी, पञ्चन राजवंशी, प्रेमलाल राजवंशी, नगेन्द्र प्रसाद राजवंशी, अजयदेवगण राजवंशी लगायतका युवाहरु छन् । झापा गौरीगञ्जका गणेशप्रसाद गिरी, दिपेन्द्रकुमार झा र बाँकेका निरञ्जन पुरीले ३० जनासँग प्रतिव्यक्ति ५ लाखका दरले रकम ठगेको पीडितहरुले बताएका छन् । उनीहरुले आफूहरु ठगिएको विषयमा श्रम तथा रोजगार कार्यालय विराटनगरलगायत विभिन्न कार्यालयमा उजुरीसमेत दिएका छन् । पीडितहरुले एजेन्टहरुलाई आइएमीमार्फत रकम बुझाएको बताएका छन् । रकम लिने एजेन्टहरु भने रकम ठगेर सम्पर्कविहिन भएको पीडितहरुले दाबी गरेका छन् । गरीब, विपन्न वर्गका युवाले ऋण काडेर क्यानडा जान किस्ताबन्दी रुपमा एजेन्टलाई दिएका थिए । अहिले उनीहरु पीडामा छन् । गौरीगञ्ज प्रहरी थानामा एजेन्टहरुलाई पैसा दिदै गरेको भिजुअलसहित आफूहरु ठगीएको उजुरी दिए पनि प्रहरीले वेवास्ता गरेकाले पीडक फरार हुन पाएको उनीहरुको भनाइ छ ।
यता श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ अधिकृत प्रेमप्रसाद संजेलले ठगी मुद्दा दर्ता भइसकेको भन्दै नेपालगञ्जमा बसेर ठगी गर्नेलाई बाँकेका प्रमुख जिल्ला अधिकारी र अदालतलाई पत्र पठाइसकेको र झापाबाट ठगी गर्नेलाई पनि झापा अदालत र प्रशासन कार्यालयमा पत्र काटिदिइसकेको बताउनुभयो । पिडक गिरी र झाको जग्गा गौरीगञ्जमा रहेकाले श्रम कार्यालय विराटनगरले मालपोत कार्यालय दमकलाई अनलाइनबाट चिठ्ठी तत्काल पठाएमा जग्गा रोक्का हुने र पीडितलाई न्याय दिलाउन क्रमिक रुपमा लाग्दा हुने बताउनुहुन्छ । पीडितहरुलाई न्याय दिलाउन र पीडकलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित सबै निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ ।