इन्डोनेसियाका अधिकारीहरुले फेरि सुनामी आउन सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेका छन् । सुन्डा स्ट्रेट तटीय क्षेत्रका बासिन्दालाई पुनः ज्वालामुखी बिस्फोट र सुनामी आउन सक्ने भन्दै सो क्षेत्र आसपास नबस्न अधिकारीहरुले चेतावनी दिएका हुन् । यसअघि हिजो ज्वालामुखी बिस्फोटपछि आएको सुनामीमा परेर इन्डोनेसियामा मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । घाइते हुनेको संख्या ८ सय ४८ पुगेको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा केही मानिसहरु हराइरहेकाले हराएकाहरुको खोजी कार्य भैरहेको छ । सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो । सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ । सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति र्पुयाएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ ।
Home > अन्तराष्ट्रिय समाचार > इन्डोनेसियामा फेरी सुनामी आउन सक्ने खतरा, मृत्यु हुनेको संख्या २ सय २२ पुग्यो