काठमाडौं, ७ पुष । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको कामलाई तीव्रता दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा ६ महिना भित्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा परिणत हुनेगरी सुधारको कामलाई तीव्रता दिइएको हो । नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायतका नेपाली मौलिकतासहितको व्यवस्थापन गरेर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भयो । त्यसका लागि विमानस्थलले पर्यटकहरुको स्वागतका लागि आवश्यक गाग्रो राख्ने र झयालहरुमा आँखी झ्याल बनाउने लगायतका कामहरु सुरु गरिएको छ ।
विमानस्थललाई बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरु परिचालन गरिएको छ । विमानस्थल सुधार कार्यक्रम अन्तरगत आगन्तुकहरुको बस्ने कुर्सी एक हजार वटा हाल थप गरिएको छ । त्यसैगरी विमानस्थल भित्र एसी पनि संचालनमा ल्याइएको छ । ६ महिना भित्र उत्तरतिर रहेको नेपाली सेनाको व्यारेक रहेको जग्गा पनि लिएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा परिणत गर्ने विमानस्थलको तयारी छ । त्यसैगरी यात्रुहरुको मागलाई ध्यानमा राखेर विमानस्थलको सेवा २१ घण्टाबाट थप गरी २२ घण्टा पु¥याइएको छ ।