काठमाडौं, ७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने प्रयास भईरहेको दाबी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै आफू नेतृत्वको वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताउनु भएको हो । आज काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भूकम्पले ध्वस्त बनाएको रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले अघि बढाएको सम्पदाहरुको पुनर्निर्माणको काम आफू सरकारबाट हट्नु परेपछि अलपत्र परेको पनि स्मरण गराउनुभयो ।
कार्यक्रममा ज्यापू संस्कृतिको संरक्षणमा योगदान पु¥याएकाहरुलाई प्रधानमन्त्री ओलीले सम्मान पनि गर्नु भएको थियो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदासमेत दिँदै आएको छ । विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिब ६ लाख नागरिक छन ।