काठमाडौ, ७ पुष । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल आज पनि जारी छ ।
पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सूरु भएको स्थायी समितिको आजको बैठकमा पनि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । आजको बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु रामबहादुर थापा र गिरिराजमणि पोखरेलले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिनु भएको थियो । परराष्ट्रमन्त्री समेत रहनु भएका प्रदिप ज्ञवालीले भने भोली बोल्नु हुनेछ । आज अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी हुनु भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ ।
भोलिको बैठकमा प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनु हुनेछ । त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनु भयो ।