Friday, November 22, 2024
Home > खेलकुद समाचार > साफ महिला च्याम्पियन्सीपको तयारी सुरु

साफ महिला च्याम्पियन्सीपको तयारी सुरु

विराटनगर, ५ पुष । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ का लागि सचिवालय समिति र मैदान ब्यवस्थापन समिति गठन गरेको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रममा साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिनुभयो । प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिदो भएकाले साफ च्याम्पियनसीपको तयारी समितिमा एन्फाका सहमहासचिव बसन्त अर्यालको संयोजनमा पाँच सदस्यीय सचिवालय समिति गठन गरिएको छ । जसमा जिल्ला फुटबल संघ मोरङका महासचिव ओमप्रकाश मास्के, वरिष्ठ उपाध्यक्ष विमल राजभण्डारी, उपाध्यक्ष दिपेन्द्र तिवारी, र सदस्य अभयकुमार राई रहेकाछन् । त्यसैगरि, मैदान ब्यवस्थापनका लागि फुटबल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालको संयोजकत्वमा मधुसुदन खनाल, मदन काफ्ले, अरुण लामा र राजु थापा रहेका छन् । कार्यक्रममा साफ च्याम्पियन्सीप तयारी समितिका संयोजक एवं एन्फाका केन्द्रीय सदस्य पंकज विक्रम नेम्बाङले प्रदेश नम्बर एकले अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने सुनौलो अवसर पाएकोमा सबै मिलेर सफल बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा उपस्थित पदाधिकारीले अन्र्तराष्ट्रिय टोलीका लागि उचित होटलको ब्यवस्थापन, सुरक्षा अवस्था तथा भौतिक संरचनालाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए । महिला साफको पाँचौ संस्करण फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विराटनगरमा हुदैछ । च्याम्पियन्सीपमा आयोजक राष्ट्र नेपालसंगै भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सको सहभागिता रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *