काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।
पार्टी कार्यालय धुम्बराहीमा आज बसेको बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो । ४ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति , संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो । त्यस्तै पार्टीले सहभागीतात्मक निर्णयलाई प्राथमिकतामा राख्न सदस्यहरुले नेतृत्वलाई सुझाव दिएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले बाहिर आएजस्तो विमतिका विषय पार्टी भित्र नभएको दाबीपनि गर्नुभयो । स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागीतालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले सरकारको विकल्प नभएको दाबी गर्दै यसको संरक्षणमा सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहरा, पम्फा भुसाल, लिलामणि पोख्रेल, चक्रपाणी खनाल,, मात्रृका यादव, विष्णु रिमालले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका छन् । अर्को बैठक भोलि बिहान ८ बजेका लागि बोलाईएको छ ।