विराटनगर, ३ पुष । कुनै समय मोरङको उत्कृष्ट भनिएको प्रदेश १ को राजधानी विराटनगरको नमूना माध्यामिक विद्यालय अहिले खराबको नमूना बनेको छ । विगतमा एक हजार भन्दा धेरै विद्यार्थी भएको यस विद्यालयमा अहिले विद्यार्थीको खडेरी परेको छ ।
कुनै बेला विराटनगरको सबैभन्दा राम्रो र नमुना उपाधि प्राप्त गरेको जनता नमुना माध्यामिक विद्यालय यतिबेला सबैभन्दा अस्तव्यस्त र भ्रष्टाचारको अखडामा परिणत भएको छ । विद्यालयमा अहिले विद्यार्थीको संख्या २ सय २७ जना छ । शिक्षक भने २१ जना कार्यरत छन् । शिक्षा र विज्ञान विषय अध्यापन गराइने भए पनि कक्षा ११ मा अहिले एकजना पनि विद्यार्थी छैनन् भने कक्षा १२ मा ४ जना मात्रै विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा महिनौंसम्म रुटिन बन्दैन, हाजिर खाताको चरम दुरुपयोग छ, सञ्चयकोष र बिमा रकम निजी काममा लगाइएको छ, आफ्नो स्कुलको बस भाडामा लगाइए पनि त्यसको हिसाबकिताब गायव छ । विद्यार्थी पनि पठाइ नहुने गरेको र शिक्षकहरुले ओठे जवाफ मात्रै दिने गरेको बताउँछन् ।
विद्यार्थी संख्या कम भएपछि विद्यालयले विद्यार्थी ओसार्न प्रयोग गरेको बस नजिकै रहेको आदर्श माध्यामिक विद्यालयलाई दुई वर्षदेखि भाडामा लगाएको छ । बा १ क ९७०३ नम्वरको बस भाडाबापत आएको ४ लाख रुपैयाँको आम्दानी कतै बाँधिएको छैन । चार वर्षदेखि यातायात कार्यालयमा बसको नवीकरणसमेत गरिएको छैन । विजुलीको बिल ८५ हजारमाथि पुगेको छ । टेलिफोनको बिल १ लाख नाघेको छ ।
शिक्षा नियमावालीअनुसार न त व्यवस्थापन समिति चयन गरिएको छ न त समयमा बैठक बसालिएको छ । जिम्मेवारीबोध प्रधानाध्यापकलाई पनि छैन, अभिभावकलाई पनि छैन र बनेको पुरानो व्यवस्थापन समिति राजनीतिक गुटबन्दीको शिकार बनेको छ । प्रधानाध्यापक विजय रौनियारकै व्यवहारले गर्दा प्लस टु तर्फ विद्यार्थी आउन बन्द भयो र विद्यालय व्यवस्थापन समितिलाई अनुचित प्रभावमा पारेर त्यहाँका कर्मचारीलाई षडयन्त्रपूर्वक हटाइयो । उनको भ्रष्टाचारी प्रवृत्तिको विरोध गर्ने जो कोही पनि उनको सिकार बन्ने गरेका छन् । सात वर्षको अवधिमा रौनियारले १४ जना शिक्षकहरुलाई बिचल्लीमा पारिसकेको त्यहीका शिक्षक बताउँछन् ।
तर, विद्यालयका निमित्त प्रमुख टीकाराम सुवेदी भने विद्यालयमा रुटिनअनुसार पठाइ भइरहेको दाबी गर्नुहुन्छ । विषयगत शिक्षकहरु सबै सक्षम भएको र पठन–पाठन भइरहेको उहाँको दाबी छ । विद्यालय निरीक्षण र अनुगमको जिम्मा पाएका सरोकारवाला व्यक्तिको चिन्ता जनाउनेभन्दा फरक जवाफ छैन । यहाँ दुःख लाग्ने कुरा मात्रै नभएर समस्या समाधानका लागि पहल गर्ने तदारुकता कसैले पनि देखाएको पाइएको छैन । नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक विजय रौनियारविरुद्ध पाँचवटा मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । उनि भने अहिले बेपत्ता छन् ।