Friday, November 22, 2024
Home > मुख्य समाचार > कांग्रेस महासमिति बैठक तनावग्रस्त

कांग्रेस महासमिति बैठक तनावग्रस्त

काठमाडौ, ३ पुष । नेपाली कांग्रेसको महासमिति बैठक स्थल आज केहीबेर तनावग्रस्त भएको छ ।

जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि त्यहाँ महासमितिका सदस्यहरुबीचमै घम्साघम्सीको अवस्था सृजना भएको हो । जिल्ला सभापतिहरुले राखेको अडान विपरित सभापति शेरबहादुर देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मंचमै उक्लिएर होहल्ला गर्न थालेका थिए । जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि सभापति देउवाले बैठक स्थगित गर्नु परेको थियो । बैठक स्थगित भएपछि मंचमा माइक लिएर नुवाकोट काँग्रेस सभापति जगदिशनरसिंह केसीले बोल्न सुरु गरेपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले माइक खोस्नु भएको थियो । माईक खोसाखोसपछि त्यहाँ घम्साघम्सीको अवस्था सृजना भएको हो । तर, काँग्रेस सहमहामन्त्री महतले भने माईक तोडफोड गर्ने हर्कत गरेपछि आफूले त्यसलाई रोक्ने प्रयास गरेको प्रतिक्रिया दिनु भएको छ । उहाँले सभापतिले बैठक केहीबेरका लागि स्थगित गरेपछि पनि नुवाकोट जिल्ला सभापति केसीले अशोभनीय काम गरेको उल्लेख गर्दै त्यसप्रति महासमितिका सबै सदस्यहरु दुःखी रहेको दावी पनि गर्नु भयो ।

यसैबीच, काँग्रेस शिर्ष नेताहरु पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफल गरिरहेका छन । विधानमा देखिएको विवाद समाधान गर्न शिर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका हुन । विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा काँग्रेस शिर्ष नेतृत्वबीच विवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *