सप्तरीको तिलाठी कोईलाडि गाउँपालिका १ बेल्हिमा आज बिहान आगलागी हुँदा घर, गाईगोठ र २६ वटा चौपाया जलेर नष्ट हुँदा २० लाख बढीको क्षति भएको छ । यसअघि सो गाउँपालिका ७ बभनगामामा शुक्रबार साँझ आगलागी हुँदा २० लाख बरारको क्षति भएको थियो । स्थानीय बिजयकुमार रायको फुसको गोठ घरमा बालेको आगो सल्केर अन्य पाँच जनाको घर, गाईगोठ तथा २६ चौपाया जलेर मरेका छन् । रायको फुसको एउटा घर, ३ वटा गाई, एउटा बाछा जलेर मरेका छन् । त्यस्तै छिमेकी नागेश्वर रायको एक फुसको घर, बब्लु रायको एक फुसको घर, बाख्रा १५ वटा, टायर गाडा एउटा, अजयकुमार रायको फुसको गोठ घर एउटा, बाख्रा ७ वटा जलेको प्रहरीले जनाएको छ । यस्तै सोही आगलागीमा लत्तकपडा, खाद्यान्न, फर्निचर लगायत समेत जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी र स्थानियबासीहरुको सहयोगमा अढाई बजे लागेको आगो बिहान ५ बजे मात्र नियन्त्रण आएको थियो । यस्तै जिल्लाकै बोदे बसाईन नगरपालिका ७ बगबिरा टोलमा शनिबार राती भएको आगलागीबाट आधा दर्जन घर जलेर नष्ट भएको छ । स्थानिय गेनीदासको गाई गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट सल्केको आगलागीका कारण १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।