काठमाडौ, २८ मंसिर । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा एक खेल बाँकी छँदै बाहिरिएको हो । १६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा र्गयो । टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरको क्षतिमा १६५ रन बनाएको थियो । यसअघि पोखरा आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले पराजित भएको पोखरा तेस्रो खेलमा भने विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो । यसैवीच चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ । विराटनगर वारियर्सलाई ५ रनले हराउँदै चितवनले प्रतियोगितामै पहिलो जित दर्ता गरेको हो । खेलमा चितवनले दिएको १९७ रनको चुनौती पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रनमात्रै बनाउन सक्यो । अब यो खेलमा पराजित भएसँगै विराटनगरलाई अघिल्लो चरणमा प्रवेश गर्न अर्काे खेल जित्नैपर्ने दबाब भएको छ ।