Thursday, November 21, 2024
Home > मुख्य समाचार > सरकारी वार्ताटोलीलाई हतियार हस्तान्तरण

सरकारी वार्ताटोलीलाई हतियार हस्तान्तरण

सप्तरी, २७ मंसिर । तराईमा सशस्त्र रुपमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरी सदरमुकाम राजविराजमा सरकारी वार्ता टोलीसमक्ष हातहतियार बुझाएको छ ।
सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा विभिन्न भूमिगत समूहसँग वार्ता गर्न गठित टोलीसमक्ष मोर्चाले बुधबार हातहतियार बुझाएको हो । जयकृष्ण गोइतसँग अलग भएर छुट्टै अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक बनेका अविनाश भनिने उपेन्द्रप्रसाद यादवको नेतृत्वमा ११ जनाले सरकारी वार्ताटोलीसमक्ष १३ थान हतियार बुझाएका हुन् ।
बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रप्रसाद पौडेलले जानकारी दिए । सरकारी वार्ताटोली संयोजक सोमप्रसाद पाण्डेले हाल २५ वटा सशस्त्र समूह सक्रिय रहेकोले अधिकांशसँग वार्ता भइसकेको जानकारी दिए । सो अवसरमा सरकारी वार्ताटोलीका सदस्यहरु सुरेश आलेमगर र ताराकान्त चौधरी, राष्ट्रियसभा सदस्य समुनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्रका प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *