काठमाडौ, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै दवावमूलक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आफूहरुको पहिचानको रुपमा रहेको सांस्कृतिक चाडपर्वको विदा कटौति खारेज गर्न माग गर्दै दवाव आन्दोलन सुरु गर्नु परेको महासंघका अध्यक्ष जगतबहादुर बरामले जानकारी दिनु भयो । महासंघले आदिवासी जनजातिहरुको सांस्कृतिक चाडपर्वको विदा कटौति गर्ने निर्णय फिर्ता लिन सरकारलाई दवाव दिँदै आईरहेको छ ।
महासंघले सो विदा कटौति गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार मंसीर २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने, पुस १ गते विदेशस्थित सबै नेपाली दुतावासमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने रहेका छन ।