ललितपुर, १८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ ।
पार्टीको आज पनि जारी केन्द्रीय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रिय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । पार्टी भित्रको गुट, उपगुटलाई अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजान पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने उहाँको तर्क छ । त्यसैगरी अर्का केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधानमै गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण काँग्रेस कमजोर हुन पुगेको उहाँको भनाई थियो । केन्द्रीय सदस्य उमाकान्त चौंधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गर्नु भयो । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको जारी बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको छ ।