ललितपुर, ५ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनु भएको छ ।
सभापति देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकारलाई प्रेरित गर्ने काम पनि आफ्नो पार्टीले गरिरहेको दावी गर्नु भयो । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग आज पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउने अभियानमा आफ्नो पार्टी केन्द्रित रहेको बताउनु भएको भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । मोगेन्स जोनसन नेतृत्वको डेनिसका सांसदहरुको प्रतिनिधिमण्डलले त्यस अवसरमा कांग्रेस नेतृत्वसँग नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थितिका बारेमा पनि चासो व्यक्त गरेको थियो । सभापति देउवाले नेपालमा बन्द गरिएको डेनिस दुतावास खोल्न पनि आग्रह गर्नु भएको थियो ।