सुनसरी, ५ मंसिर । छाताबेलीमा अज्ञात समूहले चलाएको गोली लागि स्थानीय फिदा हुसेनको मृत्यु भएको छ ।
बिहान मर्निङ वाकको क्रममा रहेका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५० वर्षिय फिदा हुसेनमाथि गोली प्रहार भएको थियो । उद्योग अघिको नहरको डिलमा हिंड्दै गरेका हुसेनमाथि मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिले गोली प्रहार गरेको बताइएको छ । गोली लागेपछि हल्ला गरेका हुसेनलाई स्थानीयले तत्कालै उपचारकालागि न्यूरो अस्पताल बिराटनगर पुर्याएका थिए । गम्भिर अवस्थाका हुसेनको उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जनाएका छन् । पारिवारिक सदस्यका अनुसार हुसेनको छातीमा दुई गोली लागेको छ । घटनास्थलमा भने गोलीका ३ वटा खोका फेला परेको छ । घटनाबारे अनुसन्धान जारी रहेको बताएको सुनसरी प्रहरीले घटना मुचुल्काको क्रममा रहेको र अनुसन्धान जारी रहेकाले पूर्ण विवरण आइनसकेको जनाएको छ । मृतक हसुेनको शव यतिवेला छाताबेली स्थित घरमा राखिएको छ । मुस्लिम समूदायले घटना प्रति खेद जनाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन् । यसैबिच आक्रोसित स्थानीयबासीहरुले सोनापुर, दुहवी लगायतका क्षेत्रमा प्रर्दशन थालेका छन् । मुस्लिम समुदायमाथि बारम्बार आक्रमण भैरहेको भन्दै भरपर्दो शान्तिसुरक्षाको ग्यारेण्टी हुन नसकेको उनिहरुको आक्रोश रहेको छ । एक महिनाअघि सुनसरीको भुटाहामा खुर्शिद आलमको समेत गोली हानी हत्या भएको थियो । छाताबेलीको घटना पश्चात सुनसरीका सीमा नाकामा कडाई गरिएको छ । चोक तथा नाकाहरुमा समेत बाक्लो सुरक्षा तैनाथी बढाइएको छ ।