ललितपुर, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिनु भएको छ ।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिनु भएको हो । उहाँले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफू दुवै सम्हाल्न सफल भएको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितका लागि निरन्तर लागिरहने प्रण पनि गर्नु भयो । उहाँले परिपक्व हुँदै गएका छोरा प्रकाशको असमायिक निधनले ठूलो क्षति पुगेको पनि उल्लेख गर्नु भयो ।
कार्यक्रममा दाहालसँगै रहनु भएकी पत्नी सिता सभा अवधिभर भावविह्वल अवस्थामा रहनु भएको थियो । मंचमा रहेकी सितालाई छोरीहरुले सम्हाल्नु परेको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।सो अवसरमा प्रकाश दाहालको स्मृति ग्रन्थ पनि बिमोचन गरिएको थियो ।