विराटनगर, १ मंसिर । सातौं कर दिवशका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको समृद्धि, कर समृद्ध नेपाल र सुखी नेपालीको भर लगायतका प्ले कार्ड बोकेका थिए । बाजागाजा सहितको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । बेलुन उडाएर मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले कर सप्ताह कार्यक्रमको उद्घाटन गर्दै कर तिरेर सभ्य नागरीक बन्नु पर्नेमा जोड दिनुभयो । प्रभातफेरीमा उद्योग संगठनका भीम घिमिरे, मोरङ व्यापार संघका पवनकुमार सारडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोज केसी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।