विराटनगर, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई अभिनन्दन गर्न लागिएको हो । अब हरेक वर्ष दिवसको अवसर पारेर एकजना ज्येष्ठ नागरिकलाई अभिनन्दन गरिने उहाँले बताउनुभयो । मंसिर १ गते गरिने अभिनन्दनका लागि प्रमुख अतिथिका रुपमा प्रदेश प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङ आउनुहुनेछ । कार्यक्रमलाई भव्यता प्रदान गर्न धमलाको संयोजकत्वमा ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी संयोजक डिल्ली पोखरेलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्राध्यापक कविराज न्यौपानेको संयोजकत्वमा अभिनन्दन तथा प्रकाशन उपसमिति, रमेशचन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति, भीम घिमिरेको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र प्रदेश–१ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख मधुसूदन कोइरालाको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ । वि.सं. १९९३ साल वैशाखमा जन्मिएका अधिकारी पछिल्लो समय राजनीतिमा निस्कृय हुनुहुन्छ ।