उदाउँदो सुर्यलाई अर्घ दिएसँगै सूर्य उपासनाको पर्व छठ आज समापन भएको छ । नदी, खोला, तलाउ र जलाशय किनारमा सुर्यदेवको उपासना गर्न उपस्थित भएका ब्रतालु र श्रद्धालुले आज बिहानै झुल्किएको उदाउँदो सुर्यलाई अर्घ दिएका छन् । सुर्यदेवलाई अर्घ दिएसंगै छठ पर्वको चारदिनसम्म गरिने विभिन्न उपासनाका सम्पुर्ण कार्यक्रमहरु पुरा भएका छन् । विराटनगर क्षेत्रमा सिंघीया र केशलिया खोलासहित नहर, पोखरी तथा अन्य जलाशय किनारमा एकाबिहानैदेखि ब्रतालु र श्रद्धालुको भीड लागेको छ । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । छठ पुजाको समापनसंगै षष्ठी माता र सुर्यदेवलाई प्रसादस्वरुप अर्पण गरिएको ठकुवा र भुसुवाका साथै केराउ र फलफुल प्रसादस्वरुप ग्रहण गर्ने चलन छ ।