२७, कार्तिक । श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्द्रा राजपाक्षेसहित ४४ जना विधायकहरु राष्ट्रपति मैत्रीपाला सिरिसेना नेतृत्वको पार्टी परित्याग गर्दै नयाँ पार्टीमा आवद्ध भएका छन् ।
राजपाक्षे र अन्य ४४ जना विधायकले सिरिसेना नेतृत्वको पार्टी श्रीलंका फ्रिडम पार्टी त्याग्दै श्रीलंका पोदुजाना पेरेमुनामा प्रवेश गरेका हुन् । श्रीलंका पेरेमुना पार्टी सन् २०१६ मा राजपाक्षेकै कान्छो भाइ तथा पूर्व अर्थमन्त्री बसिलले स्थापना गरेका हुन् । मैत्रीपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई हटाउँदै राजपाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको दुई हप्तामै राजपाक्षेले यस्तो निर्णय गरेका हुन् । सिरिसेनाले यही शुक्रबार राती संसद भंग गर्दै आम निर्वाचन आह्वान गरेपछि राजपाक्षेको निर्णय आएको हो । पेरेमुना पार्टीको स्रोत उद्धृत गर्दै श्रीलंका फ्रिडम पार्टीका ८२ जना सांसदमध्ये ६५ जना छिट्टै पेरेमुना पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको रोयटर्सले उल्लेख गरेको छ । सिरिसेनाले आफ्नै मन्त्रिपरिषदका प्रधानमन्त्रीलाई हटाएपछि नै श्रीलंकामा राजनीतिक संक्रमण चर्किँदो छ । पछिल्ला घटनाक्रमले सिरिसेनालाई अलोकप्रिय बनाउँदै गरेको पनि टिप्पणी हुन थालेको छ ।