Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश सरकारले दियो कृषि कार्यालयहरुलाई बजेटको अख्तियारी, पाँचवर्ष भित्र प्रदेशमा गोरु जोत्ने अवस्थाको अन्त्यः मन्त्री आङ्वो

प्रदेश सरकारले दियो कृषि कार्यालयहरुलाई बजेटको अख्तियारी, पाँचवर्ष भित्र प्रदेशमा गोरु जोत्ने अवस्थाको अन्त्यः मन्त्री आङ्वो

१७ कात्तिक,विराटनगर,
प्रदेश न १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत सम्पूर्ण कार्यालयहरुलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको छ । मन्त्रालयले आज विराटनगरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै अख्तियारी हस्तान्तरण गरेको हो । आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयले आफू मातहतका सम्पूर्ण निकायहरुलाई बजेट तथा कार्यक्रमहरु संचालन गर्ने अख्तियारी हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले निर्वाहमुखी कृषिलाई व्यवसायिक र आधुनिक बनाई आत्मनिर्भरता बढाउने कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रदेश सरकारले आगामी पाँचवर्ष भित्र कृषिलाई आधुनिकिकरण गरी गोरु जोत्ने अवस्थाको अन्त्य गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एक नम्बर प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले नयाँ संरचना भएकाले काम गर्न केहि कठिनाई भएपनि आफ्नो अधिकार र कार्य क्षेत्र बुझेर प्रभावकारी काम गर्न मन्त्रालयका सचिव र अन्य कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो । कृषकसंग नजिक भएर काम गर्न आग्रह गर्दै उहाँले नयाँ संरचनामा काम गर्न केहि कठिनाई छ भन्दैमा काममा ढिलासुस्ती गर्नेलाई छुट नहुने बताउनुभयो । मन्त्रालयले विराटनगरमा कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, विभिन्न जिल्लामा ११ वटा ज्ञान केन्द्र, ३ वटा कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र र विभिन्न स्थानमा ८ वटा फार्म केन्द्रहरु स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *