जनकपुर रेलवे स्टेशनमा पहिलो पटक ५३ बोगीसहितकको रेल आइपुगेको छ ।
भारतको झारखण्डबाट रेलवे लिकमा प्रयोग गरिने गिट्टी बोकेर ५३ बोगीसहितको रेल आज जनकपुर आइपुगेको हो । यसअघि जयनगर रेलवे स्टेशनदेखि दुहबी स्टेशनसम्म यति संख्या भएको बोगीसहितको रेल पुगेको थियो । जयनगर–जनकपुर रेलमार्गको लिकभित्र ब्लास्ट राख्न भारतको झारखण्डबाट हिँडेको मालबाहक रेल जनकपुर आइपुगेको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख साइट इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार प्रतिघण्टा ७ देखि १० किलोमिटरको गतिमा आएको मालबाहक रेलमा सवार मजदुरहरुले लिकमा ब्लास्ट झार्दै जनकपुर पुगेका हुन् । जयनगरदेखि कुर्थासम्म रेल सञ्चालन गर्न ३ हल्ट र ५ स्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यसैगरी स्टेशन भवन, आवास निर्माण लगायतका निर्माण कार्य लगभग पुरा भइसकेको छ । भारतको रेल निर्माण कम्पनी इरकोनले इन्टरनेसनलले जयनगर–कुर्थासम्म ब्रोडगेज रेलमार्ग निर्माण गरेको हो । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–कुर्था रेलमार्गमा यसअघि जयनगरदेखि दुहबीसम्म रेलको सफल परीक्षण गरिएको थियो । आगामी मंसिर महिनामा विवाह पञ्चमीको अवसर पारेर रेलमार्ग उद्घाटन गर्ने तयारी भइरहेको छ ।