झापामा कपडा व्यवसाय गर्दै आएका एक व्यक्तिको अपहरणपछि हत्या भएको छ । कमल गाउँपालिका ६ मंगलबारे निवासी ३८ बर्षीय खेमराज पौडेलको अपहरणपछि हत्या भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार पौडेललाई हत्या गरी फालिएको गौरीगञ्ज ६ बाह्सुद्दीस्थित विनोद यादवको धान खेत नजिकै रहेको नालामा आज विहान शव भेटिएको हो । मृतक पौडेलको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा पौडेलको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोवाइल फोन र झोला फेला परेको छ । यता प्रहरीले हत्या गरिएको आशंकामा गौरीगञ्ज निवासी सद्धाम हुसेनलाई पक्राउ गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार बेलुका मे ७ प १९०४ नम्बरको मोटरसाइकलमा सवार पौडेल र उनकी श्रीमती पसलको पैसा उठाउन गौरीगञ्ज बजार आएका थिए । करिब ६ बजेको समयमा श्रीमतीलाई खाजा पसलमा छाडेर पौडेल मोटरसाइकलमा सद्धाम हुसेनलाई लिएर रकम उठाउन गएका थिए । श्रीमानले सद्धामसँग ९० हजार रुपैयाँ पाउनु थियो सोही रकम लिन उसँग गएको श्रीमती पौडेलले प्रहरीलाई बयान दिनुभएको छ । सद्धामसंग गएका पौडेल अवेर रातीसम्म नफर्किएपछि उनी अपहरण परेको भनि श्रीमतीले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा जानकारी गराउनु भएको थियो ।