सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शनपछि पक्राउ परेर रिहा भएका झापाका बिकेन लिम्बुले आज भद्रपुरमा अर्धनग्न विरोध प्रर्दशन गरेका छन् । भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन् । लिम्बु नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरी भद्रपुर नगरपालिका अगाडी पुगेर विरोध प्रदर्शन गरेका थिए । युवाहरुले अर्धनग्न विरोध प्रर्दशन गरेपछि प्रहरीले भद्रपुर नगरपालिका अगाडी पुग्नु अघि नै रोकेको थियो । प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका थिए । युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले शान्तिपूर्ण प्रर्दशन गर्न भन्दै नगरपालिका अगाडी जान अनुमति दिएको थियो । करिव एक घण्टा गरेको विरोध प्रर्दशनको नेतृत्व गरेका लिम्बुले नगरपालिकाले जनताले तिरेको करबाट तीजको दर खुवाउने कार्यक्रम गर्न लागेको विरोधमा प्रर्दशन गरेको बताउनुभयो ।