नारायणी नदीले पश्चिम चितवनको न्युरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि एक हजारभन्दा बढी घर उच्च जोखिममा परेका छन् । भरतपुर महानगरपालिका–२७ र २८ को बीचमा सय मिटर तटबन्ध बगाएर नदीले छेउको जमीन कटान गरिरहेकाले त्यसबाट एक हजार २०० घर उच्च जोखिममा रहेको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । नजिकैका दुई घर स्थानान्तरण गरिएको र अन्य केही घर स्थानान्तरण गर्ने क्रममा रहेको पनि उहाँले बताउनुभयो । नदीले कटान गरिरहेका ठाउँमा जाली र बोरामा बालुवा, ढुङ्गा, गिट्टी भरेर नियन्त्रण गर्ने काम भइरहेको छ । त्यस्तै रूखका मुडा, बाँससमेत प्रयोग गरेर नदी नियन्त्रणको काम भइरहेको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । आज बिहान अकस्मात नदीले तटबन्ध बगाएपछि दाहालको नेतृत्वमा प्रजिअ बस्नेतसहित सुरक्षा निकायका प्रमुखलगायत त्यहाँ पुग्नुभएको थियो । सो ठाउँमा अहिले सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी, स्थानीयलगायत नदी नियन्त्रणमा लागिपरेको प्रमुख दाहालले बताउनुभयो । नदी पसेमा वडा नं २८ पूर्णरुपमा प्रभावित हुने भएकाले सतर्क रहन प्रचार प्रसार गरिएको पनि उहाँले बताउनुभयो ।