रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार ट्यांक तथा बख्तरबन्द गाडि एवम् एक हजारभन्दा बढी लडाकु विमान सहभागी गराइने भएको छ । सेप्टेम्बर ११ तारिखदेखि पाँच दिनसम्म हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबैतहका सेनाको प्रतिनिधित्व हुने रक्षामन्त्री सर्गेइले जानकारी दिनुभयो । रुसले गर्ने अभ्यासमा उत्तरी तथा प्रशान्त जलसेनाका टोलीहरुका साथै चिनियाँ तथा मंगोलियाका सेना पनि सहभागी हुने बताइएको छ । रुसको सशस्त्र फौजमा कम्तिमा १० लाख सदस्य छन् । भोस्कोट २०१८ को सैन्य अभ्यासमा सहभागी फौज र विमानको परिमाण दोस्रो विश्वयुद्धताका भएका ठूला लडाइँमा खटिएका सेनाको संख्या बराबर हो । सो सैन्य अभ्यास राष्ट्रपति भ्लादिमिर पुटिनले पनि निरीक्षण गर्नुहुने बताइएको छ । (एजेन्सी)