Friday, November 22, 2024
Home > मुख्य समाचार > महेन्द्रनगरमा पाँच घण्टाको विश्रामपछि पुनः कर्फ्यू जारी

महेन्द्रनगरमा पाँच घण्टाको विश्रामपछि पुनः कर्फ्यू जारी

निर्मला पन्तको हत्यापछि तनावग्रस्त भएको कञ्चनपुरको भीमदत्तनगरको अवस्था सामान्य बन्दै गएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आज बिहान कञ्चनपुरको ब्रह्मदेवमा दाहसंस्कार गरिएको छ । स्थिति सामान्य बन्दै गएपछि बिहान पाँच बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि कर्फ्यू हटाइएको थियो । १० बजेपछि भने अहिले पुनः कर्फ्यू लगाइएको छ । प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले स्थिति सामान्य बन्दै गएको तथा सदभावपूर्ण भएको तर कर्फ्यू लगाएपछि एकैपटक हटाइहाल्न नमिल्ने भएकाले क्रमशः घटाउँदै लैजाने नीतिअनुसार फेरि लगाइएको बताउनु भएको छ । कञ्चनपुरको भीमदत्तनगरमा गत असार १० गते १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सुरु भएको आन्दोलन चर्किंदै गएपछि प्रहरीले गोली चलाउँदा सनी खुनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । सरकारले अपराधीलाई पत्ता लगाएर कडा कारबाही गर्ने, शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने, मृतक निर्मला र सनी खुनाका परिवारलाई १०,१० लाख रुपैयाँ राहत दिने, आन्दोलनमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने लगायतका निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *