काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको बताउनुभएको हो । उहाँले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनु भयो । उहाँले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गर्नुभयो । उहाँले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उहाँले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फम्र्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । जतिपनि सत्तारुढ दलका मानिसहरुको नाम आएको छ, ति नामहरुमा गहिरोसँग अनुसन्धान नै भएन । सिआइबिको क्षमतामा मलाई अहिलेपनि प्रश्न छैन । मलाई शंका राजनीतिक दल र नेताहरुले दबाब दिए कि, प्रभावमा पारे कि भन्ने लागेको छ । कयौँ अनुसन्धान अपुरो भयो । अपुरो अनुसन्धान भएपछि अदालतले गर्ने आदेश आलोचित हुन्छ ।’
सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताउनु भयो । उहाँले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताउनु भयो ।