Saturday, November 23, 2024
Home > मुख्य समाचार > सुन खोज्दै सिंगिया आइपुगे भारतीय

सुन खोज्दै सिंगिया आइपुगे भारतीय

विराटनगर, २५ भदौ । विराटनगरस्थित सिंघीया खोलामा सुन भेटिन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर सुन खोज्न सिपालु एउटा भारतीय समुहले सिंघियासहितका विभिन्न खोलाहरुमा निरन्तर सुन खोजेरै जीविकोपार्जन गर्दै आएका छन् ।

विराटनगरको हाटखोला पुल नजिकै सिंघीया खोलाको सतह खोतल्दै गरेको यो समुहले सुन खोजिरहेको छ । पानीको सतहमुनिको बालुवा र गिट्टिमा सुन भेटिने भएकोले १ महिला २ किशोर सहित ८ जनाको समुह सुन खोजीमा जुटेका छन् । कोहि खोलाको सतह मुनिको बालुवा गिट्टि निकाल्दै र कोहि खोलाको बगरमा बालुवा कोट्याउँदै सुन खोजिरहेका छन । उनिहरुको खोजीको मुख्य लक्ष्य सुनचाँदी भएपनि भेटिने फलाम, तामा र पित्तल लगायतका धातु समेत संकलन गर्ने गरेका छन ।

भारत, महाराष्ट्र राज्यको नागपुर जिल्लाको टिकरी गाउँबाट उनीहरु सुन खोज्दै नेपालका खोला नाला खोतल्ने गरेका छन् । आदिवासी समुदायका उनीहरुको पुख्र्यौली पेशा नै सुन खोज्ने हो । गोंढी भाषा बोल्ने भारतीय आदिवासीको टोली साढे २ महिना अघि विराटनगर आईपुगेको हो । यो समुहले सिंघीया खोला सहित ईटहरी, धरान, दमक र विर्तामोड समेत पुगेर खोलाहरुबाट सुन निकाल्ने गरेका छन । बिशेषगरि दाहसंस्कार हुने श्मसान घाट नजिकैको खोलाक्षेत्रमा सुन भेटिने गरेको टोलीका सदस्य प्रकाश मरावीले जानकारी दिए ।

पुख्र्यौली पेशा भएकाले सुन कहाँकहाँ पाईन्छ र कसरी खोज्ने बिषयमा उनिहरुलाई राम्रो दख्खल छ । खोलामा सुन खोज्नुका साथै यो समुहले सुन पसल सामुन्नेको नालाबाट समेत सुनको कणहरु संकलन गर्ने गरेका छन । सुनको मसिनो कण संकलनगर्न उनिहरुले पाराको प्रयोग गर्छन । पारामा सुनको मसिनो कण चुम्बक झैं टाँसिने गरेको उनिहरुले बताएका छन ।

सुन खोज्न यो टोलीले मुख्यरुपमा दुईवटा औजारको प्रयोग गर्ने गरेका छन् । खोलाको सतह कोट्याउन उनिहरुले कोरनी भन्ने फलामको पस्नी जस्तो औजार प्रयोग गर्छन भने बिशेष प्रकारको काठको तगारी समेत प्रयोग गर्छन । सुन खोजिमा जुटेको समुहको नेतृत्व गरेका ई ब्यक्तीले आफ्नो नाम र कति सुन भेटिन्छ भन्ने परिमाण मिडियामा बताउन चाहेनन ।

मिडियामा सुनको परिमाण बताउन नचाहेपनि यो समुहले भाग्यले साथ दिएको बेला राम्रै परिमाणमा सुन भेटिने गरेको बताएका छन् । सुन र धातुको संकलनबाटै आफुहरुको परिवार र बालबच्चाको भरणपोषण हुने गरेको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *