काठमाडौं, २५ भदौ । भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ । त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन् । मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस माउन्टेन्स केन्द्रबिन्दु भएर गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पकोे असर माराकेशसहित अन्य धेरै सहरहरुमा पनि परेको छ । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् । मोरक्कोमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो ।