रुसले सिरियामा भइरहेको द्वन्द्व ब्यवस्थापनका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् । उनीहरूमध्ये २५ हजार ७ सय ३८ जना अधिकृतस्तरका र ४ सय ३४ जना सामान्य र अरू ४ हजार ३ सय ४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको बताइएको छ । रुसका रक्षा मन्त्री सेर्गेइ सोइगुले सन् २०१७ को डिसेम्बरमा पनि ४८ हजार भन्दा बढी यस्तै सैन्य व्यक्ति सिरियाली अभियानका लागि पठाइएको जानकारी दिनुभएको छ । सन् २०११ देखि सुरु भएको सिरिया युद्वमा परी अहिलेसम्म तीन लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ भने अरू लाखौं विस्थापित भएका छन् । रुसले वसर अल असदको सिरिया सरकारलाई समर्थन गर्दे आएको छ ।