Monday, November 25, 2024
Home > मुख्य समाचार > कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल

कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माणको काम अघि बढाउँछौः प्रधानमन्त्री दाहाल

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणको ३८ औँ वार्षिक उत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले १० हजार ८ सय मेघावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत आयोजनाको निर्माण प्रक्रियालाई अगाडी बढाइने बताउनुभएको हो । उहाँले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा कुनै ‘मेघा प्रोजेक्ट’ अगाडी बढाउने सपना देखेको उल्लेख गर्दै सोही सपनाको रुपमा कर्णाली चिसापानी जलविद्युत आयोजनालाई लिएको बताउनु भयो । उहाँले सो आयोजनाको ठोस रुपमा अध्ययन प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । त्यसैगरी १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त परियोजना पनि अगाडी बढाउने सोच र योजनाका साथ सरकार लागिपरेको बताउनु भयो । प्रधानमन्त्री दाहालले आन्तरिक विद्युत खपतको वृद्धि गर्दै र विद्युत निर्यातका लागि स्पष्ट लक्ष्यका साथ अगाडी बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नदीनाला र हिमश्रृङ्खलाको बाहुल्यताले जलसम्पदामा प्रकृतिको आर्शिवाद प्राप्त हाम्रो देश जलविद्युत उत्पादनमा अत्यन्त उच्च सम्भावना भएको देशको रुपमा परिचित छ । देशभित्र पनि विश्वभरी पनि । जलवायु जोखिमसँग सम्बन्धित पक्षहरुलाई समेत मनन गर्दै बिना बिलम्व यो अवसरको उपयोगिता लिन हामी पछि पर्नु हुँदैन । हामीले आन्तरिक विद्युत खपतलाई उच्च प्राथमिकतामा राख्नै पर्दछ । आन्तरिक विद्युत खपतको वृद्धि गर्दै ऊर्जा सुरक्षा हासिल गर्नुका अतिरिक्त स्वदेशी विद्युत माग पूरा गरी बढी भएको परिमाणको विद्युत निर्यातका लागि समेत स्पष्ट लक्ष्यका साथ हामी अगाडी बढीरहेका छौँ ।

प्रधानन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिनुभयो ।

उहाँले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पु¥याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *