संखुवासभा, २४ साउन । संखुवासभा जिल्ला कारागारमा कैदीबन्दी बिच गएराति कुटपिट हुँदा दुई जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भई हाल खाँदवारी ९ मा बस्दै आएका आकाश बलामी र मादी नगरपालिका ५ का विनोद तोलाङी रहेका प्रहरीले जनाएको छ ।
मृतक दुवै जना कारागारबाट गए राति १ बजे ट्वाईलेटको झ्याल फुटाएर भाग्ने क्रममा उनीहरुलाई कारागार सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पछि राति नै कारागार प्रशासनलाई बुझाईएका दवै जना बुधवार विहान अर्धचेत अवस्थामा कारागार भित्र भेटिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।अर्धचेत अवस्थामा भेटिएको दुवै जनाको खाँदवारी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । झयाल काटेर भाग्ने क्रममा नियन्त्रणमा लिएका दुवै जनालाई प्रहरीले कारागार प्रशासनलाई पक्राउ गरि बुझाए पछि भाग्नखोज्ने कैदी र अन्य कैदी बिच केहि बेर कुटाकुट हुँदा उनीहरुको मृत्यू भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । २८ वर्षिय बलामी चोरी मुद्धामा सजाय भोगिरहेका थिए । १९ बर्षिय तोलाङी जबरजस्ती करणी मुद्धामा सजाय भोगिरहेका थिए । कारागारमा कैदिको मृत्यू भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर साहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले १० दिन भित्र घटनाको प्रतिवेदन बुझाउने छ ।