बंगलादेश, २१ साउन । बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ ।
शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६ सय ८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् । ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६ सय ५४ बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३ सय ३ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुले विकराल रुप लिन सक्ने चेतावनी दिएका छन् । उनीहरुले सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।
अहिले विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ । करिव ७२५३ डेङ्गुका बिरामी फेला परेका छन् । जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १ सय एक वागमती प्रदेशमा १ हजार १७१, गण्डकी प्रदेशमा ३ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२ जना रहेका छन् ।